विज्ञानमा नेपाली आविष्कार
कुनै पनि देशको महत्वपूर्ण सम्पत्ति भनेको मानव मस्तिष्कलाई नै मान्न सकिन्छ । संसारका कयौं देशहरुले यही मस्तिष्कलाई प्रयोग गरेर २१ औं शताब्दीसम्म आइपुग्दा निक्कै विकास गरिसकेको विभिन्न तथ्याङ्कहरुले देखाउँछ । जहाँ शिक्षित मानिसहरुको जमात हुन्छ त्यहिँबाट नै विकासको शुरुवात हुन्छ ।
हालसालै बुटवलका व्यस्त मानिसका दैनिक जीवनमा पर्ने विभिन्न समस्याहरुको समाधानको उपाय निकालेका छन्, रूपन्देहीको लुम्बिनी इन्जिनियरिङ कलेज भलबारीका विद्यार्थीहरुले । बीई इन्जिनियरिङ गरिरहेका उनीहरूले एसएमएस बेस्ड होम अप्लायन्स कन्ट्रोलर बनाएका छन् । यसका लागि घरमा एसएमएस सुविधा भएको एउटा डिभाइस राखिन्छ । त्यसपछि घरका प्रत्येक विद्युतीय स्वीचका नम्बर तोकिन्छ । त्यसैको सहयोगमा जुनसुकै मोबाइलबाट पनि एसएमएस गरेर घरका स्विच आफैं खुल्न र बन्द गर्न सकिन्छ ।
दैनिक जीवनमा प्रयोग गर्न सकिने यो प्रविधि खासै महँगो पनि छैन । करिब १० हजार रुपैयाँ लगानी गर्ने हो भने सबै काम गर्न सकिन्छ । यो प्रविधिको प्रयोग गर्ने हो भने आफू बाहिर भए पनि लोडसेडिङ भइरहने समयमा बिजुली आएपछि घरमा पानी तान्ने मेशिन चलाउन, बत्ती बाल्न वा निभाउन, पंखा बन्द गर्न ईत्यादी कुराहरुगर्न सजिलो बनाइदिएको छ । विद्यार्थीहरूले बनाएको यो प्रविधि उनीहरू अध्ययनरत कलेज र जिल्लाका विभिन्न कार्यालयहरूले प्रयोग गर्न नाम टिपाइसकेका छन् ।
यी विद्यार्थीले वाटर लेभल कन्ट्रोलर अर्थात ओभरहेड ट्यांकी खाली भए स्विच आफैं खुल्ने भरिए आफैं बन्द हुने प्रविधि पनि बनाएका छन् । कक्षामा समयअनुसार घण्टी बज्ने, व्यक्तिपिच्छे पंखा र बत्ती खुल्ने वा बन्द हुने प्रविधिको विकास पनि उनीहरूले गरेका छन् । विद्यार्थीहरूलाई प्रोत्साहन गर्न र थप काममा प्रेरित गर्न यी दुई प्रविधि सोही कलेजले उपयोग गरेको हो ।
कलेजले प्रयोगमा ल्याएपछि विद्यार्थीहरूको प्रविधि अहिले रूपन्देहीका दुई दर्जनभन्दा बढी ठाउँमा उपयोगमा आइसकेको छ । विद्यार्थीहरूले रोटेटिङ विल्डिङ अथवा घुम्ने घर पनि बनाएका छन् । विकसित देशमा सूर्यको प्रकाश र हावाअनुसार घरलाई मोड्न, वस्तुशास्त्रअनुसार राख्न, अपार्टमेन्टमा बसेर सबै क्षेत्रको दृश्यावलोकन गर्न यस्ता घर प्रयोग गरिन्छ । सहरीकरण भइरहेको नेपालमा यो घरप्रतिको चासो बढेकाले यस्तो प्रविधि बनाएको सिभिल इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरु बताउँछन् । तातोमा चिसो र चिसोमा तातो हुने वातावरण अनुकूलित घर र हावा अनुकूल भित्ता बनाउने प्रविधि पनि विद्यार्थीहरुले बनाएका छन् । भूकम्परहित घर बनाउन माटो जाँच्ने प्रविधि तथा छडको क्षमता पत्ता लगाउने प्रविधि जस्ता अत्यावश्यक र व्यावहारिक प्रविधिहरु पनि विद्यार्थीहरुले बनाएका छन् । विद्युतीय मतदान प्रक्रियाको प्रयोग थालेको नेपालमा त्यसलाई विकसित गरी विद्यार्थीहरूले एकैपटक मतदाता र मतसंख्या गन्न सकिने प्रविधि पनि बनाएका छन् । पढाइको समयमा आफूले सिकेको सीप खेर नजाओस् र त्यसलाई व्यवहारमै उतार्न सकियोस् भनेर व्यावहारिक वैज्ञानिक उपकरण बनाएको विद्यार्थीहरूले बताएका छन् ।
विद्यार्थीहरूका व्यावहारिक तथा वैज्ञानिक उपकरणको प्रचार र बजार प्रवद्र्धनका लागि लुम्बिनी इन्जिनियरिङ कलेजले विज्ञान प्रदर्शनी आयोजना गरिसकेको छ । प्रदर्शनीको रूपन्देहीका करिब दुई दर्जन विज्ञान कलेजमा अध्ययनरत विद्यार्थीहरूले अवलोकन गरेका थिए । -
सम्बन्धित तस्विरहरु
Send this Page Automatically to your Friends
प्रतिकृयाहरु
|